नियम ११
इजलास अधिकृत र कर्मचारी तोक्न सक्ने
(१) इजलासमा रही काम गर्ने गरी रजिष्ट्रारले उपलब्ध भएसम्म संवैधानिक कानूनमा स्नात्तकोत्तर उपाधि हासिल गरेका अदालतका राजपत्राङ्कित द्वितीय श्रेणीका कम्तीमा दश जना अधिकृतलाई इजलास अधिकृतको रुपमा तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएका अधिकृतले सामान्यतः देहायको काम गर्नु पर्नेछः –
(क) इजलासमा पेश हुने मुद्दाहरुको मिसिल जिम्मा लिई इजलासमा मुद्दा सुनाउने,
(ख) सुनुवाई भएका मुद्दाको फैसला वा आदेश तयार गर्ने कार्यमा न्यायाधीशलाई सहयोग गर्ने,
(ग) इजलासमा पेश हुने मुद्दा र तत्सम्बन्धी आवश्यक विवरणहरु सम्बन्धित सबैलाई जानकारी हुने गरी वेबसाइटमा राख्ने,
(घ) नियम १२ बमोजिमको अनुसन्धान र विज्ञ समूहसँग समन्वय गरी फैसलाको पूर्ण पाठ तयार गर्न सहयोगी हुने अनुसन्धानमूलक सामग्री सङ्कलन गर्ने,
(ङ) इजलास व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने ।
(३) इजलासको कार्य सञ्चालनको लागि इजलास अधिकृतलाई सहयोग गर्न रजिष्ट्रारले अदालतका राजपत्राङ्कित तृतीय श्रेणीको कम्तीमा पाँच जना अधिकृत कर्मचारी खटाउन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम खटाइएको कर्मचारीले सम्बन्धित इजलास अधिकृतलाई इजलासको व्यवस्थापन तथा फैसलाको पूर्ण पाठ तयार गर्ने काममा सहयोग गर्नु पर्नेछ ।
(५) इजलासबाट भएका आदेश र फैसलाको पूर्ण पाठ टाइप गर्न रजिष्ट्रारले आवश्यकता अनुसार कम्प्यूटर अपरेटर तथा इजलास र इजलास
अधिकृत कक्षको कार्यमा सहयोग गर्न आवश्यकता अनुसार कार्यालय सहयोगी खटाउन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम खटाइएको कर्मचारीले सम्बन्धित इजलास अधिकृतले तोके बमोजिम काम गर्नु पर्नेछ ।